पाल्पाबाट ६ वर्षयताकै धेरै दालचिनी भारत निर्यात, तेजपातको निकासी पनि उच्च

काठमाडौं, १९ असार । आर्थिक वर्षमा पाल्पाबाट भारततर्फ ६ वर्षयताकै उच्च परिमाणमा दालचिनी निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको हो।

कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको छ। दुवै वनजन्य उत्पादनको निकासीमा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८०/८१ मा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात भारत निर्यात भएको थियो। कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/७८ मा एक लाख ९१ हजार ४१५ किलो दालचिनी निकासी भएको थियो। यस आधारमा चालु आवको निर्यात पछिल्लो ६ वर्षकै उच्च रहेको देखिएको छ।

तेजपातको निर्यातमा पनि निरन्तर वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/८१ मा सात लाख ६ हजार ७९० किलो रहेको निकासी गत वर्ष बढेर आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो भने चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो पुगेको छ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठका अनुसार पाल्पामा उत्पादन हुने दालचिनी र तेजपातको प्रमुख बजार भारत हो। यी वनजन्य उत्पादन स्थानीय किसानका लागि महत्वपूर्ण आम्दानीको स्रोत बनेका छन्। उनका अनुसार किसानले तेजपात प्रतिकिलो ५० देखि ६० रुपैयाँ र दालचिनी प्रतिकिलो करिब १०० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

श्रेष्ठले दालचिनी र तेजपातको उत्पादन वृद्धि तथा बजार विस्तारलाई निरन्तरता दिन सके स्थानीय कृषकको आय बढ्नुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्