महँगो भए पनि किन बढ्दै छ नेपालमा टोयोटा ल्यान्ड क्रुजरको माग ?
काठमाडौं, १८ असार । नेपालको प्रिमियम सवारीसाधन बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण निरन्तर बढ्दै गएको छ। उच्च मूल्यका बाबजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता, पुनर्बिक्री मूल्य र सामाजिक प्रतिष्ठाका कारण ल्यान्ड क्रुजर उच्च आय भएका ग्राहकको पहिलो रोजाइ बन्दै गएको हो।
नेपालको भौगोलिक बनावट, दुर्गम सडक सञ्जाल र लामो दूरीको यात्राका लागि उपयुक्त भएकाले टोयोटाका ल्यान्ड क्रुजर २५० र ३०० सिरिजप्रति उद्योगी, व्यवसायी, उद्यमी तथा राजनीतिक नेतृत्वको रुचि बढेको कम्पनीको भनाइ छ।
नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले लामो समयदेखि बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार ल्यान्ड क्रुजर २५० दुई संस्करणमा उपलब्ध छ। यसको उच्च संस्करणको मूल्य ३ करोड ७९ लाख रुपैयाँ र अर्को संस्करणको मूल्य ३ करोड २२ लाख रुपैयाँ निर्धारण गरिएको छ। ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य ५ करोड ३९ लाख रुपैयाँ रहेको छ।
कम्पनीका बिक्री प्रबन्धक सन्तोष कार्कीका अनुसार देशव्यापी सेवा सञ्जाल, सहज रूपमा उपलब्ध हुने जगेडा पुर्जा तथा भरपर्दो सेवा प्रणालीले ग्राहकको विश्वास कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
कम्पनीका वरिष्ठ प्रबन्धक महेन्द्र श्रेष्ठले पछिल्ला वर्षमा प्रिमियम सवारीसाधनको माग उल्लेखनीय रूपमा बढेको बताए। उनका अनुसार अफरोड क्षमता, उच्च सुरक्षा, लामो आयु, उत्कृष्ट पुनर्बिक्री मूल्य र सहज सञ्चालनका कारण ल्यान्ड क्रुजरको बिक्रीमा वृद्धि भएको हो।
उनले लामो दूरीको यात्रा तथा दुर्गम क्षेत्रमा निर्बाध सञ्चालन गर्न सकिने भएकाले ग्राहकले मूल्यभन्दा गुणस्तर, सुरक्षा र विश्वासलाई प्राथमिकता दिने गरेको बताए।
कम्पनीका अनुसार ल्यान्ड क्रुजरमा अत्याधुनिक सुरक्षा प्रणाली, बहुसङ्ख्यक एयरब्याग, उत्कृष्ट सस्पेन्सन र सहज सञ्चालन प्रणाली उपलब्ध भएकाले यो प्रिमियम सवारीसाधन वर्गमा लोकप्रिय बनेको छ।
कोभिड महामारीका बेला बिक्री प्रभावित भए पनि आर्थिक गतिविधि विस्तारसँगै बजार पुनः लयमा फर्किएको कम्पनीले जनाएको छ। यद्यपि आर्थिक गतिविधि र पुँजी बजारको अवस्थाले प्रिमियम सवारीसाधनको मागमा केही प्रभाव पार्ने कम्पनीको विश्लेषण छ।
कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गए पनि लामो दूरी, दुर्गम क्षेत्र र कठिन भूभागका लागि डिजेलबाट चल्ने ल्यान्ड क्रुजरप्रतिको आकर्षण अझै कायम छ।
ब्रान्ड रणनीतिकार प्रशान्त खत्रीका अनुसार नेपाली बजारमा ल्यान्ड क्रुजरलाई केवल सवारीसाधनका रूपमा मात्र नभई दीर्घकालीन लगानी र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा समेत हेरिने गरिएको छ। पुराना मोडलले समेत उच्च पुनर्बिक्री मूल्य पाउने भएकाले यसको माग स्थिर रहेको उनले बताए।







प्रतिक्रिया दिनुहोस्