नेपाल आयल निगममा ओभरटाइम भत्ता कटौतीको तयारी, सिफ्ट प्रणाली लागू गर्ने गृहकार्य
काठमाडौं, १८ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगममा अतिरिक्त काम (ओभरटाइम) वापत दिइँदै आएको भत्ता कटौती गर्ने तयारी गरेकी छन्।
निगममा ओभरटाइमका नाममा भइरहेको करोडौँ रुपैयाँको अनावश्यक खर्च तथा सम्भावित अनियमितता नियन्त्रण गर्न मन्त्री यादवले यस्तो कदम अघि बढाएको मन्त्रालयले जनाएको छ।
नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब सिफ्ट प्रणालीका आधारमा पुनर्संरचना गर्ने तयारी भइरहेको छ।
निगममा ओभरटाइम भत्ताका नाममा पछिल्लो वर्ष मात्रै करिब १३ करोड रुपैयाँ खर्च भएको तथ्यांक सार्वजनिक भएको छ। मन्त्री यादवले यस्तो खर्चले संस्थामा आर्थिक भार बढाउनुका साथै अनियमितताको जोखिम पनि बढाएको भन्दै नियन्त्रण आवश्यक रहेको बताएकी छन्।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार कर्मचारीलाई अतिरिक्त भत्ता दिनुको साटो कार्य प्रकृतिअनुसार विभिन्न सिफ्टमा विभाजन गरी परिचालन गरिनेछ। यसबाट प्रशासनिक खर्च घट्ने र संस्थाभित्र वित्तीय अनुशासन मजबुत हुने अपेक्षा गरिएको छ।
मन्त्रालयका अनुसार सिफ्ट प्रणाली लागू भएपछि निगमको सञ्चालन प्रभावकारी हुने तथा फजुल खर्चमा उल्लेख्य कटौती हुने विश्वास गरिएको छ।







प्रतिक्रिया दिनुहोस्