सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक बहुमतले पारित
काठमाडौं, १८ असार । प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफपछि संसद्ले विधेयक पारित गरेको हो।
छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले भ्रष्टाचार तथा आर्थिक अपराध नियन्त्रणका विषयमा गम्भीर र सार्थक बहस आवश्यक रहेको बताए। उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा १३ वटा निकायले चलाउन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै आर्थिक अपराध नियन्त्रणका लागि व्यापक सहकार्य आवश्यक रहेको बताए।
उनले विधेयक राजनीतिक पूर्वाग्रहका आधारमा ल्याइएको भन्ने आरोप अस्वीकार गर्दै भने, “सम्पत्ति शुद्धीकरणजस्तो विषयलाई राजनीतिक उद्देश्यका लागि दुरुपयोग गरिए हामी ग्रे लिस्टबाट बाहिर निस्कन सक्दैनौँ, जसले वैदेशिक वित्तीय सम्बन्धमा समेत असर पार्छ।”
सांसदहरू गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, कमल सुवेदी, चन्देश्वर मण्डल, एशुदाकुमारी बराल, भरतबहादुर खड्का, पार्वती विक, महेन्द्रबहादुर शाही, हरिमोहन भण्डारी र बलावती शर्माले विधेयक छलफलमा भाग लिएका थिए।







प्रतिक्रिया दिनुहोस्