मेयर जिसीले डोजर चलाउँदा पत्रकारसहित पाँचजना घाईते
कास्की । पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गर्ने क्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाइते भएका छन् ।
कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी रञ्जन अधिकारी क्षेत्री र सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल घाइते भएका हुन् । रेलिङ्ग भाँचिदा ५ जना फिर्के खोलामा खसेका थिए । पाँच जनामध्ये दुईजनाको अवस्था सामान्य छ ।
घाइते मध्ये पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको छ भने पत्रकार अधिकारी उपचारपछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य घाइते भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना भएको हो । मेयर जिसीले झुक्किएर डोजरको लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको र त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल फिर्के खोलमा खस्न पुगेका थिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ को अँधेरी कुनादेखि ड्यामसाइडसम्म फिर्केको ६ किमीको दूरीमा पैदलमार्ग बनाउने पोखरा महानगरको योजना छ । पैदलमार्ग बनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा बाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।
प्रतिक्रिया दिनुहोस्