पुँजी बजारलाई पारदर्शी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता : सेबोन अध्यक्ष भट्ट
काठमाडौं, १८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष भट्टले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
भेटमा ब्रोकर एसोसिएसनले नवनियुक्त अध्यक्ष भट्टलाई कार्यकक्षमै पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो।
अध्यक्ष भट्टले सरकारको बजेट तथा नीति–कार्यक्रमले तय गरेका लक्ष्यअनुसार पुँजी बजारको विकास, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक पहल गर्ने बताए। उनले नियामक निकाय, धितोपत्र व्यवसायी, सूचीकृत कम्पनी तथा लगानीकर्ताबीच समन्वय र सहकार्यलाई अझ मजबुत बनाइने उल्लेख गरे।
उनका अनुसार बजारमा सुशासन कायम गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने तथा आधुनिक प्रविधिको अधिकतम प्रयोगमार्फत नेपालको पुँजी बजारलाई नयाँ उचाइमा पुर्याउने दिशामा बोर्ड सक्रिय रूपमा अघि बढ्नेछ।
सो अवसरमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजारको दिगो विकास, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा नीतिगत र संरचनागत सुधारका लागि एसोसिएसनले रचनात्मक सुझाव र सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा सरकारको बजेटले पुँजी बजारका लागि तय गरेका कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन, बजार सुधार, नयाँ वित्तीय उपकरणको विकास, लगानीकर्ता शिक्षा तथा प्रविधिमैत्री सेवा विस्तारका विषयमा समेत छलफल भएको थियो।
स्टक ब्रोकर एसोसिएसनले डा. भट्टको नेतृत्वमा धितोपत्र बोर्डले पुँजी बजारको विस्तारमा नयाँ ऊर्जा थप्ने तथा नेपालको आर्थिक विकासमा बजारको योगदान अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।







प्रतिक्रिया दिनुहोस्