मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजार सुधारका सुझाव राष्ट्र बैंकमा पेश

काठमाडौं, १८ असार । चालु आर्थिक वर्ष समाप्त हुन लागेसँगै नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजारका लगानीकर्ताहरूले नीति सुधारका मागहरू तीव्र बनाएका छन्।

यसै सन्दर्भमा शेयर लगानीकर्ता संघ नेपालले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गर्नुपर्ने प्रमुख नीतिगत सुधारका सुझावहरू नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पेश गरेको छ।

संघका अध्यक्ष तारा प्रसाद फुल्लेलका अनुसार पूँजी बजारलाई थप सुदृढ, गतिशील, तरल र लगानीमैत्री बनाउन केन्द्रीय बैंकले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको छ। उनले बैंक तथा वित्तीय संस्था, लघुवित्त, शेयर धितो कर्जा, गैरआवासीय नेपालीको लगानी तथा संस्थागत कोष परिचालनसम्बन्धी नीतिहरूमा सुधार आवश्यक रहेको बताए।

संघले बुझाएको सुझावपत्रमा पाँच मुख्य बुँदाहरू समेटिएका छन्। जसअनुसार—

बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा अल्पकालीन तथा दीर्घकालीन लगानीका लागि थप लचकता प्रदान गर्नुपर्ने सुझाव दिइएको छ।

लघुवित्त संस्थाहरूको लाभांश वितरणलाई सीमितता तोक्नुभन्दा वास्तविक वित्तीय अवस्था र सञ्चित मुनाफाका आधारमा बजारमुखी बनाइनुपर्ने उल्लेख गरिएको छ।

शेयर धितो कर्जामा विद्यमान सीमा तथा जोखिम व्यवस्थापन प्रणालीलाई बजारको यथार्थपरक जोखिमअनुसार खुकुलो बनाउनुपर्ने माग गरिएको छ।

त्यस्तै, गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज लगानी र नाफा फिर्ता लैजान स्पष्ट तथा झन्झटरहित कार्यविधि आवश्यक रहेको सुझाव दिइएको छ।

संस्थागत कोषहरूको परिचालनलाई थप सक्रिय बनाउन नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष र बीमा कम्पनीहरूलाई पूँजी बजारमा प्रभावकारी रूपमा परिचालन गर्न नीतिगत सहजीकरण गर्नुपर्ने पनि संघको माग छ।

राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा यी सुझावहरूलाई कत्तिको समेट्छ भन्ने विषयमा लगानीकर्ताहरूको चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्