जुन महिनामा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, १९.५ प्रतिशत वृद्धि
काठमाडौं, १८ असार । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या गत वर्षको तुलनामा १९.५ प्रतिशतले वृद्धि भएको हो।
गत वर्षको सोही अवधिमा ७६ हजार ४२५ पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको सन् २०१९ को जुन महिनाको ७४ हजार ८८३ आगमनको तुलनामा पनि यस वर्ष २२.०१ प्रतिशतले वृद्धि देखिएको छ।
जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन्, जुन कुल आगमनको ५२.८ प्रतिशत हो। मुख्य स्रोत बजार भारतबाट मात्रै ४१ हजार ८०९ पर्यटक आएका छन्।
अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जसमा चीनबाट ८ हजार ८७५, जापानबाट २ हजार ४९७, दक्षिण कोरियाबाट १ हजार ७६५ तथा थाइल्यान्डबाट ९८४ पर्यटक आएका छन्।
युरोपबाट १३ हजार ११९ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यसमध्ये बेलायतबाट ३ हजार २६६, जर्मनीबाट १ हजार ८९२ र फ्रान्सबाट १ हजार २६७ पर्यटक आएका छन्।
अमेरिकाबाट ६ हजार ९५४ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ७.६१ प्रतिशत हो। यस अवधिमा संयुक्त राज्य अमेरिकाबाट ५ हजार २३७, क्यानडाबाट १ हजार २९८ तथा ब्राजिलबाट २१९ पर्यटक आएका छन्।
त्यसैगरी, ओसियानिया क्षेत्रबाट ३ हजार ९० पर्यटक नेपाल आएका छन्, जुन गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले वृद्धि हो। यस क्षेत्रमा अस्ट्रेलियाबाट २ हजार ६९४ तथा न्यूजिल्यान्डबाट ३९० पर्यटक आएका छन्।
अफ्रिकाबाट ६७४ तथा मध्यपूर्वबाट २९२ पर्यटक नेपाल आएका छन्।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवर्द्धन अभियान तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो।
बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवर्द्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्