इन्धन मूल्य घटेपछि केही पम्प बन्द, सरकारद्वारा आकस्मिक बजार अनुगमन

काठमाडौं, १७ असार । पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटेपछि केही निजी पेट्रोल पम्प बन्द भएको गुनासो आएपछि सरकारले आकस्मिक बजार अनुगमन गरेको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र नेपाल आयल निगमको संयुक्त टोलीले काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्पमा अनुगमन गरेको हो।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाएको थियो। मूल्य समायोजनपछि बुधबार बिहानदेखि काठमाडौंका केही निजी पम्पहरू बन्द देखिएका थिए। बन्दका कारण भद्रकालीस्थित नेपाली सेनाको पम्पमा उपभोक्ताको लामो लाइन लागेको थियो।

अनुगमनका क्रममा वाणिज्य विभागका निर्देशक अनिल किरातीका अनुसार पाँच वटा पम्पमा निरीक्षण गर्दा चार वटा बन्द रहेको पाइयो भने एक पम्प सञ्चालनमा रहेको थियो र त्यहाँ इन्धन बिक्री भइरहेको थियो।

उनका अनुसार बन्द रहेका पम्पहरूले इन्धन लुकाएको नभई स्टक अभावका कारण कारोबार रोकिएको पाइएको छ। “अनुगमन गर्दा ती पम्पमा बिक्रीका लागि पेट्रोलियम पदार्थ नै स्टकमा थिएन,” निर्देशक किरातीले बताए।

नेपाल आयल निगमले मागअनुसार पूर्ण रूपमा इन्धन आपूर्ति गर्न नसकेको कारण केही पम्पमा स्टक सकिएको व्यवसायीहरूको भनाइ छ। पेट्रोलियम डिलर्सहरूले पनि उपत्यकाबाहिरका केही स्थानमा यस्तै समस्या देखिएको बताएका छन्।

हाल अधिकांश पम्पहरू पुनः सञ्चालनमा आएको र बजार सामान्य अवस्थामा फर्किंदै गएको व्यवसायीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्