कालो सिसा हटाउने अभियानबारे नाडा र ट्राफिक प्रहरीबीच छलफल
काठमाडौं, १७ असार । सवारी साधनमा जडान गरिएका कालो सिसा हटाउने विषयमा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल भएको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेट गरी कालो सिसा हटाउने अभियानका विषयमा छलफल गरेको हो।
छलफलका क्रममा प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यास तथा सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अनुमति नलिई जडान गरिएका कालो सिसा भएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने गरेको पाइएको बताए। उनले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कालो सिसा हटाउने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।
उनले सवारी साधनको अगाडिको सिसामा कालो फिल्म वा कुनै पनि प्रकारका स्टिकर टाँस्न नपाइने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै सवारी आयातकर्ताले खरिदकर्तालाई यसबारे पूर्वजानकारी गराउनुपर्ने बताए। साथै, कालो सिसा प्रयोग गर्न सरकारबाट अनिवार्य अनुमति लिनुपर्ने र उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएका सवारी साधन आयात नगर्न व्यवसायीलाई आग्रह गरे।
नाडाका अध्यक्ष उप्रेतीले अधिकांश सवारी साधनमा कालो फिल्म प्रयोग भएकाले पहिलो चरणमा त्यस्ता फिल्म हटाउने प्रक्रिया अघि बढाउन सुझाव दिए। उनले प्राविधिक रूपमा कालो फिल्म हटाउन सहज हुने भएकाले त्यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।
नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले उत्पादक कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनको संख्या न्यून रहेको उल्लेख गर्दै त्यसको यकिन विवरण तयार गरी छुट्टै व्यवस्थापन गर्न सकिने बताए।
यस विषयमा थप छलफलका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित रूपमा अनुरोध गर्ने जनाएको छ। छलफलमा नाडाका उपाध्यक्ष अभिक ज्योतिलगायत पदाधिकारीको पनि उपस्थिति रहेको थियो।







प्रतिक्रिया दिनुहोस्