औषधिको मूल्य समायोजनबारे निर्णय गर्न परिषद्को बैठक तयारी, अर्को हप्ता बस्ने सम्भावना

काठमाडौं, १७ असार । औषधि परामर्श परिषद्को बैठक आगामी हप्ता बस्नेगरी तयारी तीव्र पारिएको छ। बैठकअघि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयका अधिकारीहरूसँग आन्तरिक छलफल गर्न लागेकी छिन्।

स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बैठकको पूर्व तयारीका लागि मन्त्रालयमा छलफल भइरहेको छ। उनले मन्त्रीले औषधि परामर्श परिषद्को बैठकलाई प्राथमिकतामा राखेको जानकारी दिए।

“अब छिट्टै बैठकको मिति तय हुन्छ, सम्भवतः अर्को हप्ताभित्र बैठक बस्ने तयारी छ,” उनले बताए।

यसअघि स्वास्थ्य मन्त्री मेहताले गत असार ३ गते संसद् बैठकमा बोल्दै एक हप्ताभित्र परिषद्को बैठक बस्ने प्रतिबद्धता जनाएकी थिइन्।

औषधि मूल्य समायोजनसम्बन्धी निर्णय गर्न उक्त बैठक बस्न लागेको हो। पछिल्लो १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसकेको बताइएको छ। अब हुने बैठकले यस विषयमा महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्