नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

काठमाडौं, १७ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको असार १७ गते बसेको बैठकले नयाँ खरिद मूल्यका आधारमा पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। नयाँ मूल्य २०८३ असार १७ गते रातिदेखि लागू भएको निगमले जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएपछि उपभोक्ता मूल्य पनि समायोजन गरिएको हो। यसअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रति सिलिन्डर १०० रुपैयाँ मूल्य घटाइएको छ।

नयाँ मूल्यअनुसार पहिलो वर्गका जिल्लामा पेट्रोल प्रतिलिटर १९४.५० रुपैयाँ, दोस्रो वर्गमा १९६ रुपैयाँ र तेस्रो वर्गमा १९७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल तथा मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १९२.५० रुपैयाँ, दोस्रो वर्गमा १९४ रुपैयाँ र तेस्रो वर्गमा १९५ रुपैयाँ तोकिएको छ।

अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौंका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २५६ अमेरिकी डलरले घटाइएको छ। भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन प्वाइन्टमा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ मूल्य निगमका डिपो तथा कार्यालयबाट १५ किलोमिटरसम्मको दूरीभित्र लागू हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्