राहदानी खरिद प्रकरण: जर्मनीले नेपाललाई कुनै चेतावनी नदिएको स्पष्टिकरण

काठमाडौं, १७ असार । जर्मनीले नेपाली राहदानी खरिद प्रकरणसँग सम्बन्धित सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई कुनै चेतावनी नदिएको स्पष्ट पारेको छ। यस विषयमा सार्वजनिक भएका केही तथ्य गलत रहेको भन्दै काठमाडौंस्थित जर्मन दूतावासले बुधबार तीन बुँदे स्पष्टीकरण जारी गरेको हो।

दूतावासका अनुसार, बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको थियो, स्पष्टीकरण माग्नका लागि बोलाइएको होइन। कूटनीतिक अभ्यासमा यी दुई प्रक्रियाबीच स्पष्ट र महत्वपूर्ण भिन्नता रहेको दूतावासले जनाएको छ।

स्पष्टीकरणमा उक्त भेटका क्रममा नेपाल पक्षलाई कुनै विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य आधिकारिक दस्तावेज हस्तान्तरण नगरिएको पनि उल्लेख गरिएको छ।

त्यस्तै, अदालतमा विचाराधीन रहेको मुद्दाका आधारमा कुनै सम्भावित परिणाम वा कारबाहीबारे नेपाललाई चेतावनी नदिइएको दूतावासले स्पष्ट पारेको छ।

जर्मनीले आफ्नो संविधानले न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै न्यायिक प्रक्रियाप्रति पूर्ण सम्मान रहेको जनाएको छ। साथै, विचाराधीन अदालतका मुद्दाबारे टिप्पणी नगर्ने आफ्नो नीतिअनुसार यस प्रकरणमा पनि थप टिप्पणी नगर्ने स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्