कम्पनी दर्तासँगै अब सेवाग्राहीले आफैं प्यान नम्बर डाउनलोड गर्न सक्ने

काठमाडौं, १६ असार । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तर–आबद्धता गर्ने सम्झौताअनुसार विकसित प्रणाली अब पूर्ण रूपमा सञ्चालनमा आएको छ।

कार्यालयका अनुसार अन्तर–आबद्धताअन्तर्गत विकास गरिएको प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको ‘सीएएमआईएस (CAMIS)’ प्रणालीमा आजदेखि लाइभ गरिएको हो।

यो व्यवस्था लागू भएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयमा नयाँ कम्पनी दर्ता गर्ने सेवाग्राहीले आफ्नो स्थायी लेखा नम्बर (प्यान) कार्यालय धाउनुपर्ने वा छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबिना सीएएमआईएस प्रणालीमार्फत् आफैं डाउनलोड तथा प्रिन्ट गर्न सक्नेछन्।

कार्यालयले जारी गरेको सूचनाअनुसार सेवाग्राहीले कम्पनी दर्तापछि सीएएमआईएस प्रणालीमा उपलब्ध हुने प्यान नम्बर सिधै डाउनलोड गरी आवश्यक प्रयोजनका लागि प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

कार्यालयका अनुसार यस प्रणालीले कम्पनी दर्ता र प्यान प्राप्तिको प्रक्रियालाई थप छरितो, सहज तथा प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्