विदेशी आवासीय अनुमति लिएर कार्यालय नफर्किएका ४ निजामती कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं, १६ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार जना निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै स्वीकृत बिदा समाप्त भएपछि पनि आफ्नो कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेको पाइएपछि उनीहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

मन्त्रालयका अनुसार ती कर्मचारीहरूले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी भिसा (डीभी) लिएको पाइएको छ। निजामती सेवा ऐनअनुसार पदमा बहाल रहेका कर्मचारीले विदेशी मुलुकको आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउने व्यवस्था छैन।

त्यस्तै, स्वीकृत बिदा सकिएको ३० दिनभित्र कार्यालयमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था उल्लङ्घन गरेको भन्दै मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको हो।

निजामती सेवा ऐन, २०४९ अनुसार उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने अवस्था देखिएकाले १५ दिनभित्र चित्तबुझ्दो आधार र प्रमाणसहित सफाइ पेस गर्न मन्त्रालयले निर्देशन दिएको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता सुदृढ बनाउन यस्ता गतिविधिमाथि निगरानी बढाइएको बताइन्।

उनले कार्यालयमा अनुपस्थित रहेका कर्मचारीहरूको अवस्थाबारे अध्ययन भइरहेको र कानुनबमोजिम आवश्यक निर्णय गरिने जानकारी दिँदै मन्त्रालय निजामती सेवामा अनुशासन कायम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्।

मन्त्रालयले विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको अवस्थाबारे पनि अध्ययन र खोजी कार्यलाई तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्