नेपाल राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी

काठमाडौं, १६ असार । नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब रुपैयाँ बराबरको “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क” जारी गर्ने भएको छ।

बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि केन्द्रीय बैंकले बजार व्यवस्थापनका लागि उक्त ऋणपत्र जारी गर्न लागेको हो।

ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्नेछन्। आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमार्फत यसको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

एक वर्ष अवधिको उक्त ऋणपत्रको साँवा भुक्तानी २०८४ असार १६ गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने व्यवस्था गरिएको छ।

न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने व्यवस्था रहेको छ।

राष्ट्र बैंकका अनुसार यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्