स्थानीय तहको बजेट तर्जुमा सुधार्न केन्द्रबाट सहसचिव टोली परिचालन

काठमाडौं, १६ असार । सरकारले स्थानीय तहको बजेट तर्जुमा प्रक्रिया प्रभावकारी र व्यवस्थित बनाउन केन्द्रबाट तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरेको छ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले उक्त टोलीमार्फत स्थलगत रूपमा स्थानीय तहमा सहजीकरण तथा समन्वयको काम भइरहेको जानकारी दिएकी हुन्।

मन्त्री रावलका अनुसार टोलीले पालिका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गर्नेछ।

उनले संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन यो कदम चालिएको बताइन्।

यद्यपि परिचालन गरिएका तीन सहसचिवको नाम भने सार्वजनिक गरिएको छैन।

यसैबीच, स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयमा मन्त्री रावल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल समेत भएको छ।

छलफलमा कर्मचारी व्यवस्थापन, बजेट तर्जुमा र प्रशासनिक चुनौतीका विषयमा विस्तृत विचार–विमर्श भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्