मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन निजी क्षेत्रले डेढ वर्षमै सम्पन्न
काठमाडौं, १६ असार । चिनियाँ कम्पनीले सात वर्षसम्म निर्माण गर्न नसकेको मर्स्याङ्दी करिडोर अन्तर्गतको २२० केभी मार्कीचोक–भरतपुर प्रसारण लाइन निजी क्षेत्रले डेढ वर्षमै सम्पन्न गरेको छ।
नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म अघि बढाउन नसकेको २८ किलोमिटर खण्ड निजी जलविद्युत प्रवर्द्धकहरूले निर्माणको जिम्मेवारी लिएपछि तीव्र गतिमा काम सम्पन्न भएको हो।
२०७४ साल कात्तिकमा चिनियाँ कम्पनी पिङ्गाओ ग्रुपले निर्माणको जिम्मा पाएको उक्त आयोजनामा ८४ वटा टावरमध्ये ३५ वटा फाउण्डेसन र १० वटा टावर मात्र निर्माण भएको थियो। पछि काम सुस्त भएपछि प्राधिकरणले २०८१ मंसिर ५ गते निर्माण जिम्मेवारी निजी क्षेत्रलाई हस्तान्तरण गरेको थियो।
त्यसपछि मर्स्याङ्दी करिडोरका सात जलविद्युत आयोजनाले संयुक्त रूपमा करिब ४ करोड ९६ लाख रुपैयाँ लगानी गरी भिभा कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सर्न र भूगोल इन्फ्रास्ट्रक्चर कम्पनीमार्फत निर्माण अघि बढाएका थिए।
हाल ८४ वटै टावरको फाउण्डेसन पूरा भइसकेको छ भने ७८ वटा टावरको इरेक्सन सम्पन्न भइसकेको छ। गत वर्षसम्म शून्य प्रगति रहेको प्रसारण लाइन अहिले पूर्ण रूपमा निर्माण सम्पन्न भई परीक्षण सञ्चालनमा पुगेको छ।
यो प्रसारण लाइनमार्फत ५४ मेगावाटको सुपर दोर्दी, १२ मेगावाटको दोर्दी खोला–१, २७ मेगावाटको दोर्दी खोला, ३० मेगावाटको न्यादी, ८.६० मेगावाटको चेपे खोला र ९.०५ मेगावाटको सुपर चेपेखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा जोडिनेछ।
नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइनेछ।
ऊर्जा क्षेत्रका सरोकारवालाहरूले यस उपलब्धिलाई सार्वजनिक–निजी साझेदारीको सफल नमूनाका रूपमा मूल्यांकन गरेका छन्। पूर्व ऊर्जा मन्त्री तथा प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले यसलाई ऊर्जा पूर्वाधार विकासको महत्वपूर्ण उपलब्धि भन्दै समयमै प्रसारण पूर्वाधार विस्तार आवश्यक रहेको बताएका छन्।







प्रतिक्रिया दिनुहोस्