उपत्यकामा २४ घण्टामा १,५९२ सवारीसाधन कारबाहीमा, २० लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १६ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ। कारबाहीबाट २० लाख २४ हजार ५६१ रुपैयाँ राजस्व सङ्कलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती उल्लङ्घन गर्ने ७४ जना, तीव्र गतिमा सवारी चलाउने ७८ जना तथा लेन अनुशासन पालना नगर्ने ४७ जना रहेका छन्।
त्यसैगरी, गाडीमा कालो सिसा प्रयोग गर्ने ८७ जना, ‘नो हर्न’ क्षेत्रमा हर्न बजाउने ५६ जना, एकतर्फी सडकमा सवारी प्रवेश गराउने ३२ जना तथा अन्य विभिन्न ट्राफिक कसुरमा एक हजार ५८ जनामाथि कारबाही गरिएको प्रवक्ता सुवेदीले जानकारी दिए।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय उपत्यकाभित्र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनका लागि निगरानी र कारबाहीलाई थप कडाइ गर्दै आएको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्