सिंहदरबार छिर्ने र हत्या गर्ने धम्की दिएको आरोपमा एक पक्राउ

काठमााडौं, १५ असार । सार्वजनिक शान्तिविरुद्धको कसुरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन्। उनलाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार तामाङले आफूलाई ८ लाख रुपैयाँ र काठमाडौंमा जग्गा उपलब्ध नगराए खुकुरी लिएर सिंहदरबार छिर्ने तथा हत्या गर्ने प्रकृतिको धम्कीपूर्ण अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्