पुँजीकोष कमजोर भएपछि पाँच लघुवित्तमा राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही

काठमााडौं, १५ असार । नेपाल राष्ट्र बैंकले नियामकीय मापदण्डअनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न असफल भएका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।

राष्ट्र बैंकले आरम्भ चौतारी लघुवित्त, सिवाइसी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको हो।

केन्द्रीय बैंकका अनुसार २०८२ असार मसान्तमा आरम्भ चौतारीको पुँजीकोष अनुपात ७.७७ प्रतिशत, सिवाइसीको ६.२० प्रतिशत, सामुदायिकको ६.१२ प्रतिशत र नेरुडे मिर्मिरेको ६.०१ प्रतिशत मात्र रहेको थियो। त्यस्तै, गणपति लघुवित्तको २०८२ असोज मसान्तसम्म पुँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र देखिएपछि सो संस्थालाई पनि शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

राष्ट्र बैंकले पुँजीकोष कमजोर हुँदा वित्तीय संस्थाको जोखिम बढ्ने र निक्षेपकर्ताको हितमा असर पर्न सक्ने भएकाले यस्तो कदम चालिएको जनाएको छ।

यसैबीच, धौलागिरि लघुवित्तका सञ्चालकहरूलाई कर्मचारी सेवा विनियमावलीविपरीत नायव कार्यकारी अधिकृतलाई पुनर्बहाली गर्नुका साथै स्पष्ट आधारबिना तलब भुक्तानी गरेको पाइएपछि सचेत गराइएको छ।

सिवाइसी नेपाल लघुवित्तका सञ्चालकहरूलाई भने संस्थागत खर्च सीमा र अख्तियारी पालना नगरी सवारी साधन खरिद गरेको भन्दै सचेत गराइएको छ।

त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्थामा रहेका रकमलाई आम्दानीका रूपमा देखाउने क्रममा राष्ट्र बैंकको निर्देशन उल्लंघन भएको भन्दै सचेत गराइएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक सुपरिवेक्षणका आधारमा यी कारबाहीहरू गरिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्