हुरुन ग्लोबल रिच लिस्ट २०२६ : न्युयोर्कमा सबैभन्दा धेरै अर्बपति, एसियाका सहरहरूको वर्चस्व बढ्दो
काठमााडौं, १५ असार । हुरुन ग्लोबल रिच लिस्ट २०२६ अनुसार विश्वमा सबैभन्दा धेरै अर्बपति बस्ने सहर अमेरिकाको न्युयोर्क बनेको छ। न्युयोर्कमा मात्र १४६ जना अर्बपति बसोबास गर्ने उल्लेख गरिएको छ।
अमेरिका विश्वकै ठूलो अर्थतन्त्र भएकाले शीर्ष कम्पनी र अर्बपतिहरूको केन्द्रका रूपमा अझै पनि अग्रस्थानमा रहेको प्रतिवेदनले देखाएको छ। विश्वका शीर्ष १०० कम्पनीमध्ये आधाभन्दा बढी अमेरिकामै रहेका छन्।
प्रतिवेदनअनुसार अर्बपति बसोबास गर्ने शीर्ष सहरमध्ये एसियाको वर्चस्व उल्लेखनीय रूपमा बढ्दै गएको छ। ३२ सहरमध्ये १८ सहर एसियामा रहेको तथ्यांकले देखाएको छ।
न्युयोर्कपछि चीनको सेन्जेनमा १३२ अर्बपति रहेका छन् भने सांघाईमा १२० र बेइजिङमा १०७ अर्बपति रहेको उल्लेख छ।
युरोपतर्फ बेलायतको लन्डनमा १०२ अर्बपति बसोबास गर्छन्। भारतको आर्थिक राजधानी मुम्बईमा ९५ अर्बपति रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अन्य प्रमुख सहरहरूमा हङकङ (८८), सान फ्रान्सिस्को (८६), मस्को (८२) र चीनको हाङझाउ (६५) अर्बपति रहेका छन्।
भारतको राजधानी दिल्लीमा ६४ अर्बपति छन् भने सिंगापुर (५९), ताइपेई (५१), पेरिस (४४), साओ पाउलो (४१), ग्वाङ्झाउ (४१), लस एन्जलस (४०) र बैंकक (४०) मा पनि उल्लेखनीय संख्या रहेको छ।
अन्य सूचीमा जकार्ता (३२), टोकियो (३१), इस्तानबुल (३१), बेंगलुरु (३०), स्टकहोम (२९), मिलान (२८), टोरन्टो (२६), मेलबर्न (२४) र दुबई (२४) अर्बपति रहेका छन्।
प्रतिवेदनले विश्वको सम्पत्ति वितरणमा एसियाली सहरहरूको तीव्र उदय देखिएको र आर्थिक केन्द्रहरूको सन्तुलन विस्तार हुँदै गएको संकेत गरेको छ।







प्रतिक्रिया दिनुहोस्