रूप फेरिँदै नयाँ बसपार्क : सफा, व्यवस्थित र प्रविधिमैत्री बन्दै गोङ्गबुको केन्द्रीय बस टर्मिनल
काठमााडौं, १५ असार । कुनै समय अव्यवस्थित टहरा, फोहोर र दुर्गन्धका कारण आलोचित हुने काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्क अहिले सफा, व्यवस्थित र प्रविधिमैत्री केन्द्रीय बस टर्मिनलका रूपमा रूपान्तरण हुँदै गएको छ।
काठमाडौं महानगरपालिका–२६ स्थित विष्णुमती किनारामा १६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा अहिले नियमित सरसफाइ, व्यवस्थित पार्किङ, आधुनिक टिकट काउन्टर, निःशुल्क इन्टरनेट, अपाङ्गमैत्री शौचालय, पेट्रोल पम्प तथा सुरक्षा व्यवस्थासहितका पूर्वाधार सञ्चालनमा आएका छन्। अव्यवस्थित टहरा हटाइएपछि बसपार्कको स्वरूप नै परिवर्तन भएको छ।
ल्होत्से बहुउद्देश्यीय प्रालिले २०७१ सालदेखि बसपार्क व्यवस्थापन गर्दै आएको छ। कम्पनीका अध्यक्ष इन्जिनियर दीपक कुँवरका अनुसार भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता चुनौतीका बाबजुद बसपार्कलाई आधुनिक र व्यवस्थित बनाउन निरन्तर काम गरिएको छ।
हाल बसपार्कमा दैनिक करिब ३५० देखि ४०० लामो दूरीका सार्वजनिक सवारीसाधन आवतजावत गर्छन् भने १० हजारभन्दा बढी यात्रु सेवा लिइरहेका छन्। यहाँबाट देशका ६० भन्दा बढी जिल्लामा नियमित बस सेवा सञ्चालन भइरहेको छ।
बसपार्कको पार्किङ क्षमता पनि विस्तार गरिएको छ। सुरुमा ४५० सवारीसाधन अट्ने क्षमता रहेको बसपार्कलाई स्तरोन्नति गरी हाल ८०० सवारीसाधन पार्किङ गर्न सकिने बनाइएको छ।
यात्रुलाई सहज सेवा दिन कम्प्युटराइज्ड तथा अनलाइन टिकटिङ प्रणाली विस्तार गरिएको छ। विशेषगरी पूर्वतर्फ सञ्चालन हुने १०० भन्दा बढी बसमा अनलाइन टिकट बुकिङ र सिसी क्यामेरा जडान गरिएको छ, जसले यात्रुलाई घरमै बसेर टिकट काट्ने सुविधा दिएको छ।
सुरक्षाका लागि बसपार्कभित्र प्रहरी प्रभाग, ट्राफिक प्रहरी तथा सामुदायिक प्रहरीको नियमित निगरानी रहेको छ। दैनिक करिब ५० जना सरसफाइकर्मी खटिने भएकाले बसपार्कको सरसफाइ पनि नियमित रूपमा भइरहेको छ।
ल्होत्से बहुउद्देश्यीय प्रालिले काठमाडौं महानगरपालिकालाई सम्झौताअनुसार वार्षिक एक करोड रुपैयाँभन्दा बढी राजस्व बुझाउँदै आएको छ। बसपार्कसँगै गोङ्गबु, टोखा र माछापोखरी क्षेत्रमा होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसाय विस्तार हुँदा स्थानीय अर्थतन्त्र र रोजगारीमा समेत उल्लेखनीय योगदान पुगेको छ।
यद्यपि, सार्वजनिक सवारीसाधनको संख्या बढ्दै जाँदा केन्द्रीय बसपार्कको क्षमता थप विस्तार गर्नुपर्ने आवश्यकता व्यवसायीहरूले औँल्याएका छन्। उनीहरूका अनुसार बसपार्कलाई अझ आधुनिक र नमुना बनाउन सरकार, स्थानीय तह, यातायात व्यवसायी र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक छ।







प्रतिक्रिया दिनुहोस्