नेप्से बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले लिए शपथ, अर्थमन्त्रीको निर्देशन– ‘लगानीकर्ताको हितलाई प्राथमिकता दिनुहोस्’

काठमााडौं, १५ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन्। असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शपथपछि अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पुँजीबजारमा लगानीकर्ताको हित र लगानीको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए। उनले कुनै पनि प्रकारका लोभ, प्रलोभन वा बाह्य प्रभावबाट मुक्त भएर निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।

मन्त्री वाग्लेले पुँजी परिचालनमार्फत आर्थिक वृद्धि हासिल गर्न बजारमा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिए।

उनले बजारमा अनावश्यक हल्ला र अफवाह फैलाएर साना लगानीकर्तामा त्रास सिर्जना गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याउँदै धेरै बोल्नेभन्दा नतिजामुखी काम गर्न अध्यक्ष भट्टलाई सुझाव दिए।

“पुँजीबजार सुधारका योजना स्पष्ट समयसीमासहित कार्यान्वयन गर्नुहोस्। मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, तर हरेक हप्ता बजारको प्रगति विवरण चाहिन्छ,” अर्थमन्त्री वाग्लेले भने।

कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र निर्देशनअनुसार इमानदारीपूर्वक काम गर्दै पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

उनले विगतमा पुँजीबजार सुधारका लागि भएका अध्ययन तथा सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप पारदर्शी, व्यवस्थित र विश्वसनीय बनाउने दिशामा काम गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्