एनएमबि बैंकको एफपिओमा दुई दिनमा कति पर्यो त आवेदन ?

काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) मा दुई दिनमा ४९ करोड ४७ लाख ५४ हजार ७५० रुपैयाँको सेयरको लागि आवेदन परेको छ ।

बैंकको एफपिओ निष्काशनको बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुसार दुई दिनमा २० हजार ७९० जना आवेदक मार्फत १४ लाख ८५ हजार ७५० कित्ता सेयरको माग भएको छ । यो कुल निष्काशनको जम्मा १३ प्रतिशत कित्ता मात्र हो ।

इच्छुक लगानीकर्ताले एफपिओमा न्युनतम १० कित्ता र अधिकतम ५७ हजार ०७० कित्तासम्म आवेदन दिन सक्नेछन् । एपपिओ छिटोमा असार ३ गतेसम्म र ढिलोमा असार २८ गतेसम्म किन्न पाइनेछ ।
बैंकले २३३ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३३३ रुपैयाँ दरको एक करोड १४ लाख १५ हजार १६३ कित्ता थप सार्वजनिक निष्काशन गरेको हो । सर्वसाधारणहरुबाट सबै सेयर माग नभएमा चार दिनपश्चात संस्थागत लगानीकर्ताहरुलार्इ समेत आवेदन खुला हुनेछ ।

कम्पनीको एफपीओको बिक्रीको प्रत्याभुतिको काम नागरिक लगानी कोष लगायत एनआइबिएल एस क्यापिटल, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमीटेडले गरेका छन् । बैंकको सबै सेयर विक्री नभएमा प्रत्याभुतिकर्ताले बाँकी सेयर सकार्नेछन् ।

एफपिओ बिक्रीबाट बैंकको चुक्ता पूँजी एक अर्ब १४ करोड बढेर ७ करोड ६० लाख पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्