शङ्कर पोखरेलको सुझाव: किसानलाई करोडौँ अनुदानभन्दा मल, बीउ र उत्पादनको उचित मूल्य आवश्यक

काठमााडौं, १५ असार । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले किसानलाई ठूलो लगानीकर्तामुखी अनुदानभन्दा गुणस्तरीय मल, बीउ तथा उत्पादनको उचित मूल्य सुनिश्चित गर्नु सरकारको प्राथमिकता हुनुपर्ने बताएका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पोखरेलले यस वर्ष अनियमित वर्षा र खडेरीको सम्भावना रहेकाले किसानलाई हुन सक्ने ठूलो क्षतिबाट जोगाउन सरकारले कृषि बिमाको पूर्ण सुनिश्चितता गर्नुपर्ने बताएका हुन्।

सरकारले कृषिमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई आकर्षक अनुदान दिने घोषणा गरेको सन्दर्भमा उनले व्यावसायिकता र आधुनिकीकरणका लागि यस्तो कदम सकारात्मक भए पनि यसबाट अधिकांश साना किसान लाभान्वित हुन नसक्ने टिप्पणी गरेका छन्।

“सरकारले कृषिमा दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्नेहरूका लागि आकर्षक अनुदानको घोषणा गरेको छ। व्यावसायिकता र आधुनिकीकरणका लागि यो कदम आफैँमा नराम्रो होइन। तर प्रश्न उठ्छ, के आम नेपाली किसानको हैसियत त्यति ठूलो लगानी गर्न सक्ने बनेको छ र?” उनले उल्लेख गरेका छन्।

पोखरेलले भौतिक रूपमा संसारले जतिसुकै समृद्धि हासिल गरे पनि मानव जीवनका लागि खाद्यान्नको महत्त्व कहिल्यै कम नहुने बताएका छन्। उनले कृषि अर्थतन्त्रको मेरुदण्ड भए पनि मझौला तथा साना किसान अझै पनि राज्यको प्राथमिकतामा पर्न नसकेको दाबी गरेका छन्।

उनले सरकारले नीति तथा कार्यक्रममार्फत मध्यम वर्गको संरक्षणको कुरा गरिरहे पनि उत्पादनमा निरन्तर खटिएका किसानलाई राज्यको बढी साथ, संरक्षण र सहुलियत आवश्यक रहेको उल्लेख गरेका छन्। साथै, किसानका लागि समयमै मल, गुणस्तरीय बीउ, उत्पादनको उचित मूल्य तथा प्रभावकारी कृषि बिमाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्