जागिरसँगै बंगुर र माछापालन: तेजबहादुर चौधरीको वार्षिक सात लाखभन्दा बढी आम्दानी

काठमााडौं, १५ असार । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले जागिरसँगै बंगुरपालन र माछापालन व्यवसाय सञ्चालन गर्दै वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। सिद्धनाथ माध्यमिक विद्यालय बेलडाँडीमा लेखापालका रूपमा कार्यरत चौधरीले पाँच वर्षअघि करिब १० लाख रुपैयाँ लगानी गरेर डिउरो जातको बंगुरपालन सुरु गरेका हुन्।

यस वर्ष उनले ६० वटा बंगुरका पाठापाठी प्रतिवटा पाँच हजार रुपैयाँका दरले बिक्री गरी करिब तीन लाख रुपैयाँ आम्दानी गरेका छन्। साथै, तीन वटा माउ बंगुर बिक्रीबाट एक लाख रुपैयाँभन्दा बढी आम्दानी भएको उनले बताए। हाल उनको फार्ममा १५ वटा माउ बंगुर र १९ वटा पाठापाठी रहेका छन्।

चौधरीका अनुसार बंगुरपालनमा चारो र स्वास्थ्योपचारका लागि वार्षिक करिब दुई लाख रुपैयाँ खर्च हुने गरेको छ। बंगुरपालनसँगै उनले फार्मसँगै माछापोखरी निर्माण गरी माछापालन पनि गर्दै आएका छन्। बंगुरको मलमूत्र सिधै पोखरीमा पुग्ने व्यवस्था मिलाइएकाले माछाका लागि प्राकृतिक आहारा उपलब्ध हुने र उत्पादन लागत घट्ने गरेको उनले बताए।

माछापालनबाट मात्रै पनि वार्षिक करिब दुई लाख रुपैयाँ आम्दानी हुने गरेको उनको भनाइ छ। उत्पादन भएको माछा स्थानीय बजारमा बिक्री हुने गरेको छ भने बंगुर कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा नगदमा बिक्री हुने गरेको उनले जानकारी दिए।

विद्यालयको जिम्मेवारीका कारण दिनको समयमा श्रीमतीले फार्मको व्यवस्थापन सम्हाल्ने र बिहान–साँझ आफैंले चारो हाल्ने तथा आवश्यक काम गर्ने गरेको चौधरीले बताए।

“विद्यालयको तलबले मात्र परिवारको सबै खर्च धान्न सकिँदैन,” उनले भने, “त्यसैले वैकल्पिक आम्दानीको स्रोतका रूपमा बंगुर र माछापालन सुरु गरेको हुँ। अहिले यही व्यवसायले परिवारलाई आर्थिक रूपमा बलियो बनाएको छ।”

बंगुर र माछापालनबाट भएको आम्दानी बचत गरेर गाउँमै पक्की घर निर्माण गरेको तथा बालबालिकाको शिक्षा, घरायसी खर्च र आकस्मिक आवश्यकतामा पनि यही व्यवसायबाट आएको आम्दानीले ठूलो सहयोग पुगेको उनले बताए।

ग्रामीण क्षेत्रमा सीमित तलबमा मात्र निर्भर नहुँदै वैकल्पिक कृषि तथा पशुपालन व्यवसाय अपनाएर राम्रो आम्दानी गर्न सकिने उदाहरणका रूपमा तेजबहादुर चौधरीको व्यवसाय स्थापित हुँदै गएको छ।

प्रतिक्रिया दिनुहोस्