नेपालगञ्जमा ‘रोयल इनफिल्ड रोपाइँ महा राइड २०८३’, २०० राइडरको सहभागिता
काठमाडौं, १४ असार । नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिअन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रालिले ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ आयोजना गरेको छ।
राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमको उद्देश्य नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा जोड्नु रहेको आयोजकले जनाएको छ।
रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट सुरु भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो। कार्यक्रममा करिब २०० जना रोयल इनफिल्ड राइडर सहभागी भएका थिए।
कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कृषि संस्कृति, पर्यटन र स्थानीय समुदायलाई जोड्ने यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली परम्पराको संरक्षण र प्रवर्द्धनमा योगदान पुग्ने बताए।
राइडपछि सहभागीहरूले परम्परागत धान रोपाइँमा सहभागिता जनाएका थिए। साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर, थारु सांस्कृतिक प्रस्तुति तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारको स्वाद पनि लिएका थिए।
कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए। उनका अनुसार कार्यक्रम सुरक्षित, व्यवस्थित र सफल रूपमा सम्पन्न भएको थियो।
आयोजकका अनुसार ‘प्योर मोटरसाइक्लिङ’को अवधारणाअनुसार रोयल इनफिल्डले नेपालभर राइडिङ संस्कृति, समुदायबीचको सम्बन्ध, साहसिक यात्रा तथा स्थानीय संस्कृति प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि सुरक्षित र जिम्मेवार राइडिङसँगै नेपालको प्राकृतिक, सांस्कृतिक र पर्यटन सम्भावनालाई प्रवर्द्धन गर्ने यस्ता समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्