अर्थमन्त्री वाग्ले : पेट्रोलियम पदार्थको मूल्य अब घट्ने अवस्थामा छ
काठमाडौं, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको तनाव कम भएसँगै डिजेल, पेट्रोल र मट्टीतेललगायत पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि त्यसको प्रभाव नेपालमा देखिन केही समय लाग्ने बताए।
उनका अनुसार नेपालले भारतीय आयल निगममार्फत पेट्रोलियम पदार्थ आयात गर्ने भएकाले अन्तर्राष्ट्रिय मूल्य समायोजन भएर नेपाल आइपुग्न केही समय लाग्नेछ।
‘मध्यपूर्वको अवस्था सहज हुँदै गएको छ। क्रुड आयलको मूल्य घटिसकेको छ। तर त्यो प्रशोधन भएर भारतीय आयल निगममार्फत नेपाल आइपुग्न केही समय लाग्छ। मूल्य अब घट्ने अवस्थामा छ,’ वाग्लेले भने।
अर्थमन्त्री वाग्लेले मध्यपूर्वको द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा उपभोक्तामाथि परेको भार कम गर्न आफू अर्थमन्त्री बनेको दुई साताभित्रै डिजेल, पेट्रोल र मट्टीतेल आयातमा लाग्ने भन्सार महसुल तथा डिजेल–पेट्रोलमा लाग्ने पूर्वाधार विकास करको ५० प्रतिशत छुट दिने निर्णय गरिएको पनि बताए।
उनले सरकारले अन्तर्राष्ट्रिय बजारको अवस्थालाई निरन्तर निगरानी गरिरहेको र त्यसअनुसार उपभोक्तालाई राहत पुग्ने गरी आवश्यक कदम चालिरहेको उल्लेख गरे।







प्रतिक्रिया दिनुहोस्