मुख्यमन्त्री पाण्डे : बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन

काठमाडौं, १४ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि पर्याप्त स्रोत सुनिश्चित भएकाले कार्यान्वयनमा कुनै समस्या नआउने बताएका छन्।

प्रदेशसभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले प्रदेश सरकारले यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याएको बताए।

‘स्रोत सुनिश्चित गरेर बजेट ल्याएका छौं। बजेट कार्यान्वयनमा स्रोतको कमी हुँदैन,’ उनले भने।

मुख्यमन्त्री पाण्डेका अनुसार कर्मचारीको तलब वृद्धि र महँगी भत्ताका कारण चालु खर्चतर्फको बजेट बढाउनुपरेको हो। नागरिकका आवश्यकता र मागलाई सकेसम्म बजेटमार्फत सम्बोधन गर्ने प्रयास गरिएको उनले बताए।

प्रदेश सरकार सुशासन, मितव्ययिता र प्रशासनिक खर्च कटौतीप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि खर्च नियन्त्रणलाई प्राथमिकतामा राखिने बताए।

चालु आर्थिक वर्षमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनलगायत विभिन्न कारणले प्रदेश सरकारको कार्यप्रगति अपेक्षाअनुसार हुन नसकेको उनको भनाइ थियो।

मुख्यमन्त्री पाण्डेले गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखाना सञ्चालनका लागि संघीय सरकारसँग समन्वय गरिने जानकारी दिए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि पनि प्रदेश सरकारले आवश्यक पहल गरिरहेको बताए।

उनले बजेटमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले दिएका सुझाव, सल्लाह र जिज्ञासालाई सरकारले आत्मसात गर्दै बजेट कार्यान्वयनमा अघि बढ्ने बताए।

यसअघि आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले असार ५ गते प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफल सम्पन्न भएपछि मुख्यमन्त्री पाण्डेले समग्र बजेटबारे धारणा राखेका हुन्।

गण्डकी प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

प्रतिक्रिया दिनुहोस्