गरिबलाई होइन, निजी विद्यालयमा पढ्नेले मात्रै समता कर तिर्छन् : अर्थमन्त्री वाग्ले
काठमाडौं, १४ असार । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयक, २०८३ माथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई समता कर नलाग्ने स्पष्ट पारे।
उनका अनुसार समता शुल्क केही निजी विद्यालयमा मात्र लागू हुने व्यवस्था गरिएको छ। मासिक १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ प्रतिशत अर्थात् ३ सय रुपैयाँ योगदान गर्ने व्यवस्था प्रस्ताव गरिएको उनले बताए।
उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार, भुइँमान्छे, सीमान्तकृत, दलित तथा न्यून आय भएका समुदायका बालबालिकाको शैक्षिक पहुँच र अवसर विस्तारका लागि खर्च गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिए।
‘शिक्षामा लगाएको समता करले गरिब र भुइँमान्छेलाई छुँदैन। केही निजी विद्यालयमा मात्रै यो शुल्क प्रस्ताव गरिएको हो। १० हजार रुपैयाँ शुल्क तिर्नेले करिब ३ सय रुपैयाँ योगदान गर्ने हो,’ उनले भने।
साना–साना योगदान संकलन गरेर सार्वजनिक शिक्षाको उन्नयन गर्ने उद्देश्यसहित समतामूलक नीति ल्याइएको उल्लेख गर्दै उनले यसको विरोध भइरहेकोप्रति आश्चर्य व्यक्त गरे। समानता र सामाजिक न्यायको पक्षमा बोल्ने राजनीतिक दल तथा सांसदहरूले यस्तो नीतिको स्वागत गर्नुपर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले मध्यम वर्गमा समता करको असर कम गर्न व्यक्तिगत आयकरमा छुट दिइएको पनि बताए।
उनले स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको समता कर पनि सोही अवधारणाअनुसार ल्याइएको उल्लेख गर्दै त्यसबाट संकलित रकम स्वास्थ्य सेवाको गुणस्तर सुधारमा खर्च गरिने जानकारी दिए।
समता कर गरिब र भुइँमान्छेको हितका लागि ल्याइएको दोहोर्याउँदै उनले राजस्व संकलनबिना देशको विकास सम्भव नहुने बताए।







प्रतिक्रिया दिनुहोस्