टिकापुर–राजापुर जोड्ने दौलतपुर झोलुङ्गे पुल सञ्चालनमा, आन्तरिक पर्यटकको घुइँचो बढ्यो
काठमाडौं, १४ असार । कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका जोड्ने दौलतपुरस्थित कर्णाली नदीमाथिको झोलुङ्गे पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको उल्लेख्य भीड बढेको छ।
केही दिनअघि मात्रै निर्माण सम्पन्न भई आवागमनका लागि खुला गरिएको उक्त पुल अवलोकन गर्न तथा कर्णाली नदी र आसपासका फाँटको प्राकृतिक सुन्दरता हेर्न दैनिक रूपमा ठूलो संख्यामा पर्यटक आउने गरेका छन्। गर्मी छल्न साँझपख पुल क्षेत्रमा पुग्ने स्थानीयको पनि संख्या बढेको छ।
टीकापुर–५ का किरण चौधरीका अनुसार साँझको समयमा शीतल वातावरणका लागि पुल क्षेत्रमा पुग्नेको भीड बढ्दो छ। उनले भने, “यहाँ सोचेभन्दा बढी आगन्तुक आउँछन्, फोटो तथा भिडियो खिच्नेको पनि घुइँचो हुन्छ।”
पुल क्षेत्रमा अहिले व्यावसायिक फोटोग्राफरहरूले पनि सेवा दिइरहेका छन्। बर्दियाका राजेश चौधरीका अनुसार पुल सञ्चालनसँगै पर्यटक आगमन बढेपछि आम्दानीमा समेत वृद्धि भएको छ।
स्थानीयवासीका अनुसार पुल निर्माणले टीकापुर र राजापुरबीचको दूरी करिब २४ किलोमिटरबाट घटेर १५ किलोमिटरमा झरेको छ। साथै डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको छ।
स्थानीय प्रेमप्रसाद भण्डारीले पुलले दुई जिल्लाको आवागमन सहज बनाउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। उनका अनुसार नजिकै रहेको टीकापुर पार्कमा पनि पर्यटक संख्या बढ्ने अपेक्षा गरिएको छ।
थानी निर्माण सेवाले करिब १५ करोड ७३ लाख ९५ हजार ५२८ रुपैयाँ लागतमा ४८२ मिटर लामो पुल निर्माण सम्पन्न गरेको हो। कम्पनीका प्रबन्धक विक्रम बस्नेतका अनुसार पुल सञ्चालनमा आइसकेको छ र हस्तान्तरणको तयारी भइरहेको छ।
यसैबीच कर्णाली नदीमा थप अर्को पुलसमेत निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ, जसले टीकापुर नगरपालिका हुँदै बर्दियाको गेरुवा गाउँपालिका जोड्ने आवागमनलाई पनि सहज बनाएको छ।







प्रतिक्रिया दिनुहोस्