नेपाल विद्युत प्राधिकरणद्वारा लाइन नकाटिकनै मर्मत कार्य सुरु

काठमाडौं, १४ असार । नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन नकाटिकनै मर्मत तथा सम्भार गर्ने कार्यको थालनी गरेको छ। प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयमार्फत यो नयाँ अभ्यास सुरु गरेको हो।

नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दिर्घायु कुमार श्रेष्ठको उपस्थितिमा लुम्बिनीबाट उक्त कार्यक्रमको सुरुवात गरिएको प्राधिकरणले जनाएको छ।

लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख मनोज कुमार यादवका अनुसार उपभोक्तालाई बिना अवरोध गुणस्तरीय र निरन्तर विद्युत सेवा उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलो पटक चालु अवस्थाको विद्युत लाइनमा अत्याधुनिक उपकरण प्रयोग गरी मर्मत सम्भार सुरु गरिएको हो।

उनका अनुसार विद्युत आपूर्तिलाई थप भरपर्दो र गुणस्तरीय बनाउने लक्ष्यसहित यो अभ्यासलाई नमुना कार्यका रूपमा सुरु गरिएको हो। आगामी दिनमा यसलाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्