सम्पत्ति शुद्धीकरणसम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं, १४ असार । सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी जारी अध्यादेशलाई प्रतिस्थापन गर्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभामा प्रस्तुत गरेको छ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद डा. स्वर्णिम वाग्लेले उक्त विधेयक प्रस्तुत भएको जानकारी गराएका हुन्।

विधेयकले तस्करी, भन्सार, अन्तःशुल्क, प्रत्यक्ष तथा अप्रत्यक्ष करसम्बन्धी कसुर, धितोपत्र तथा वस्तु बजारमा भित्री कारोबार (इनसाइडर ट्रेडिङ) र बजार हेरफेर, साथै मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय, विनिमय अधिकारपत्र तथा बीमासम्बन्धी कसुरसँग जोडिएका सम्पत्ति शुद्धीकरणका घटनाको अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको छ।

यसअघि संघीय संसदका दुवै सदनको अधिवेशन सञ्चालनमा नरहेका बेला तत्काल कानुनी व्यवस्था आवश्यक परेको भन्दै सरकारले सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको थियो। उक्त अध्यादेश संसदमा पेश भई स्वीकृतसमेत भइसकेको छ।

संविधानअनुसार जारी गरिएको अध्यादेशलाई निरन्तरता दिन त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश गर्नुपर्ने व्यवस्था रहेकाले सरकारले सोही व्यवस्थाअनुसार प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता तथा प्रस्तुत गरेको हो।

प्रतिक्रिया दिनुहोस्