नेपाल टेलिकमको नयाँ सुविधा : प्रिपेड प्याकेज अब स्वतः नवीकरण हुने

काठमाडौं, १४ असार ।नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने नयाँ प्याकेज सेवा सञ्चालनमा ल्याएको छ।

यो सुविधासँगै ग्राहकले हरेक महिना आफैँ प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। कम्पनीका अनुसार एकपटक प्याकेज सक्रिय गरेपछि मोबाइलमा पर्याप्त मौज्दात रहे प्रत्येक ३० दिनमा प्याकेज स्वतः नवीकरण हुनेछ।

टेलिकमले ३० दिनका लागि तीन प्रकारका प्याकेज सार्वजनिक गरेको छ। २९९ रुपैयाँको प्याकेजमा ३०० मिनेट सबै नेटवर्कमा कुराकानी, ४ जीबी डाटा, २ जीबी रात्रिकालीन डाटा र २० वटा आफ्नै नेटवर्कभित्रका सन्देश उपलब्ध हुनेछन्।

त्यसैगरी, ४९९ रुपैयाँको प्याकेजमा ५०० मिनेट सबै नेटवर्कमा कुराकानी, ८ जीबी डाटा, ४ जीबी रात्रिकालीन डाटा र १०० वटा सबै नेटवर्कमा सन्देश उपलब्ध हुनेछ।

७९९ रुपैयाँको प्याकेजमा सबै नेटवर्कमा असीमित कुराकानी, दैनिक १० जीबीका दरले महिनाभर कुल ३०० जीबी डाटा तथा ३०० वटा सबै नेटवर्कमा सन्देश उपलब्ध गराइने कम्पनीले जनाएको छ।

थप डाटा आवश्यक परे ग्राहकले ३० रुपैयाँमा १ जीबी, ५० रुपैयाँमा २ जीबी र ९९ रुपैयाँमा ४ जीबी डाटाको अतिरिक्त प्याकेज पनि खरिद गर्न सक्नेछन्।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी निर्देशनअनुसार यी प्याकेज सक्रिय गर्न सक्नेछन्।

कम्पनीले यो सुविधाले ग्राहकलाई सुलभ शुल्कमा निरन्तर सेवा प्राप्त गर्न थप सहज हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्