धरानले ३० वर्षपछि पायो नयाँ अत्याधुनिक बसपार्क, आजदेखि सञ्चालनमा

काठमाडौं, १४ असार । तीन दशकदेखि नयाँ बसपार्कको प्रतीक्षामा रहेको धरानले अन्ततः अत्याधुनिक सुविधासम्पन्न बसपार्क सञ्चालनमा ल्याएको छ। धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजना क्षेत्रमा निर्माण गरिएको बसपार्क शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।

पुरानो भानुचोक बसपार्क साँघुरो बन्दै जाँदा बढ्दो सवारीसाधन र यात्रुको चाप व्यवस्थापन गर्न कठिन भएको अवस्थामा नयाँ बसपार्क सञ्चालनमा आएपछि यातायात व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।

निर्माण कम्पनीले गत वर्ष नै बसपार्क निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरे पनि जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले सञ्चालनमा आउन एक वर्ष ढिलाइ भएको थियो।

सरकारको समपूरक कोष र धरान उपमहानगरपालिकाको संयुक्त लगानीमा करिब २४ करोड ८६ लाख रुपैयाँ लागतमा बसपार्क निर्माण गरिएको हो। सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी वार्षिक एक करोड दुई लाख रुपैयाँमा निजी कम्पनीलाई दिइएको उपमहानगरपालिकाले जनाएको छ।

यस्ता छन् बसपार्कका सुविधा

२७ कट्ठा क्षेत्रफलमा फैलिएको बसपार्कमा बेसमेन्टसहित तीनतले टर्मिनल भवन निर्माण गरिएको छ। बसपार्कमा १०५ सिट क्षमताको यात्रु प्रतीक्षालय, २५ टिकट कक्ष, लघु बजार, स्वचालित नगद सेवा कक्ष, निगरानी कक्ष, सुरक्षाकर्मी कक्ष, अपाङ्गतामैत्री सार्वजनिक शौचालय तथा व्यावसायिक सटरको व्यवस्था गरिएको छ।

पहिलो तलामा १४ व्यावसायिक सटर, स्नान तथा शौचालयसहित १२ विश्राम कक्ष, भोजनालय, कफी गृह र बसपार्क व्यवस्थापन कार्यालय रहेको छ।

बसपार्कमा एकैपटक ३८ वटा ठूला बस तथा १८ वटा साना सार्वजनिक सवारीसाधन पार्किङ गर्न सकिने क्षमता रहेको छ।

भानुचोकमा अब ठूला सार्वजनिक सवारी रोकिने छैनन्

नयाँ बसपार्क सञ्चालनसँगै लामो तथा मध्यम दूरीका सबै सार्वजनिक सवारीसाधन तीनकुने बसपार्कबाट सञ्चालन हुने भएका छन्। अब भानुचोक क्षेत्रमा नगर सफारी र विद्युतीय तीनपाङ्ग्रे सवारीबाहेक अन्य सार्वजनिक सवारीसाधन पार्किङ गर्न नपाइने यातायात व्यवसायीहरूले बताएका छन्।

दैनिक करिब आठ सय सार्वजनिक सवारीसाधन धरान भित्रिने र बाहिरिने भएकाले नयाँ बसपार्कले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

बसपार्क प्रवेशका छुट्टाछुट्टै मार्ग

पहाडी क्षेत्रबाट आउने सार्वजनिक सवारीसाधनलाई एकतर्फी मार्ग प्रयोग गरी माछाभौडी, सदन विद्यालय, बुढासुब्बा, पिण्डेश्वरी चोक, बरगाछी, अरुण इन्धन केन्द्र हुँदै भृकुटीचोकबाट बसपार्क प्रवेश गर्ने व्यवस्था गरिएको छ।

तराई क्षेत्रबाट आउने सवारीसाधनले तीनकुनेस्थित सिरिजङ्गा चोकमाथिको लाङ्घाली मोडबाट बसपार्क प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

स्थानीय सरकारका अनुसार नयाँ बसपार्क सञ्चालनसँगै धरानको सार्वजनिक यातायात व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्