देशभर १४ नगरपालिका र १४ गाउँपालिकाले समयमै बजेट ल्याउन सकेनन्

काठमाडौं, १२ असार । देशभरका स्थानीय तहमध्ये ९५ प्रतिशतभन्दा बढीले आगामी आर्थिक वर्षका लागि समयमै बजेट प्रस्तुत गरे पनि १४ नगरपालिका र १४ गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेको पाइएको छ।

नेपाल नगरपालिका संघका अनुसार देशभरका २९३ नगरपालिकामध्ये धरान उपमहानगरपालिका सहित १४ वटा नगरपालिकाले असार १० गतेभित्र बजेट प्रस्तुत गर्न सकेनन्। मधेश प्रदेशमा सबैभन्दा धेरै १० नगरपालिकाको बजेट समयमा आउन सकेको छैन।

मधेश प्रदेशमा जनकपुरधाम उपमहानगरपालिका सहित गरुडा, कटहरिया, फतुवा विजयपुर, हरिवन, सुखीपुर, कमला, विदेह र जलेश्वर नगरपालिकामा बजेट प्रस्तुत हुन सकेको छैन। बागमतीमा मेलम्ची नगरपालिका, गण्डकीमा बागलुङ नगरपालिका, सुदूरपश्चिममा टिकापुर नगरपालिका समयसीमाभित्र बजेट ल्याउन असफल भएका छन्। लुम्बिनी र कर्णाली प्रदेशका सबै नगरपालिकाले भने समयमै बजेट ल्याएका छन्।

त्यसैगरी गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अनुसार देशभरका ४६० गाउँपालिकामध्ये १४ गाउँपालिकामा बजेट प्रस्तुत हुन सकेको छैन। तीमध्ये ५ गाउँपालिकामा नीति तथा कार्यक्रम पेश भए पनि बजेट प्रस्तुत हुन बाँकी रहेको जनाइएको छ।

प्रदेशगत रूपमा हेर्दा कोशीमा ३, मधेशमा ३, बागमतीमा १, लुम्बिनीमा ३, सुदूरपश्चिम र कर्णालीमा २–२ गाउँपालिकाले बजेट ल्याउन नसकेको देखिएको छ भने गण्डकी प्रदेशका सबै गाउँपालिकाले समयमै बजेट प्रस्तुत गरेका छन्।

स्थानीय सरकार सञ्चालन ऐन तथा आर्थिक कार्यविधि सम्बन्धी कानुन अनुसार असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ। समयमै बजेट नल्याउँदा कार्यसम्पादन मूल्यांकनमा असर पर्ने चेतावनीसमेत दिइएको छ।

नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अनुसार ढिलाइका कारणमा तयारी नपुग्नु, स्वास्थ्य समस्या, सरुवा तथा सहमति अभाव लगायत कारणहरू देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्