लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग स्थापना गर्ने सरकारको तयारी
काठमाडौं, १२ असार । सरकारले लागुऔषध नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन छुट्टै विभाग स्थापना गर्ने तयारी अघि बढाएको छ।
लागुऔषध नियन्त्रण तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले विभाग स्थापना गर्ने विषय संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमार्फत अघि बढाइएको जानकारी दिए।
उनका अनुसार प्रस्तावित विभागले लागुऔषध नियन्त्रण, रोकथाम, उपचार तथा पुनःस्थापनासम्बन्धी कामलाई संघ, प्रदेश र स्थानीय तहसम्म नीतिगत रूपमा समन्वय र प्रभावकारी ढंगले कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि विभाग स्थापना गर्ने प्रस्ताव अझै स्वीकृत भइसकेको छैन।
गृहसचिव श्रेष्ठले लागुऔषध दुर्व्यसनीको उपचार तथा पुनःस्थापनाका लागि सञ्चालन हुने केन्द्रहरूले न्यूनतम मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्नेमा जोड दिए। साथै, यस क्षेत्रमा क्रियाशील सबै संस्था सरकारसँग समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
उनले प्रदेश तथा स्थानीय तहलाई समेत लागुऔषध नियन्त्रण तथा रोकथाम अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्दै सबै तहको सहकार्यबाट मात्र यस समस्यालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने बताए।







प्रतिक्रिया दिनुहोस्