कक्षा १२ को नतिजामा त्रुटि भएको भन्दै परीक्षा बोर्ड अगाडि अनेरास्ववियुको प्रदर्शन
काठमाडौं, १२ असार । कक्षा १२ को नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले राष्ट्रिय परीक्षा बोर्डको कार्यालय अगाडि प्रदर्शन गरेको छ।
शुक्रबार भक्तपुरस्थित बोर्ड कार्यालय अगाडि आयोजित प्रदर्शनमा अनेरास्ववियुले नतिजा प्रकाशन, मूल्याङ्कन, पुनर्मूल्याङ्कन तथा रिटोटलिङ प्रक्रियामा देखिएका कमजोरीको निष्पक्ष छानबिन गर्न माग गरेको हो।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘विद्यार्थीमाथिको अन्याय बन्द गर’, ‘शिक्षामा बेथिति अन्त्य गर’, ‘अनियमितताको छानबिन गर’, ‘दोषीलाई कारबाही गर’ र ‘शैक्षिक न्याय कायम गर’ लगायतका नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।
अनेरास्ववियुकी महासचिव अञ्जना शिवाकोटीले कक्षा १२ को नतिजा प्रकाशनमा भएको त्रुटिले विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर परेको भन्दै यस विषयमा सरकार र राष्ट्रिय परीक्षा बोर्ड गम्भीर बन्नुपर्ने बताइन्।
उनले शिक्षा क्षेत्रमा देखिएका बेथिति अन्त्य गरी पारदर्शी र विश्वसनीय परीक्षा प्रणाली कायम गर्न माग गरिन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले छिटो नतिजा सार्वजनिक गर्ने नाममा लापरबाही गर्ने कर्मचारीमाथि छानबिन गरी आवश्यक कारबाही गर्न पनि माग गरेका छन्।







प्रतिक्रिया दिनुहोस्