स्नो रिभर्सको सेयर कारोबार सुरु, पहिलो कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा

काठमाडौं, १२ असार । स्नो रिभर्स लिमिटेडको सेयर कारोबार आज (शुक्रबार) देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ।

स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो सेयर कारोबार प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा भएको हो। यही मूल्यलाई आधार मानेर नियमित कारोबार सञ्चालन हुनेछ।

कम्पनीको सेयर ‘एसएनओआरएल’ कारोबार संकेतमार्फत नेप्सेमा किनबेच भइरहेको छ।

यसअघि बिहीबार कम्पनीको कुल ९३ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो। यसमध्ये सर्वसाधारणका लागि जारी गरिएको १८ लाख ७५ हजार कित्ता र संस्थापक लगानीकर्ताको ७५ लाख कित्ता सेयर रहेका छन्।

नेप्सेले पहिलो कारोबारका लागि कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको मूल्य सीमा निर्धारण गरेको थियो। कम्पनीको पहिलो कारोबार उक्त मूल्य सीमाभित्रै २९८ रुपैयाँ ७० पैसामा सम्पन्न भएको हो।

नेप्सेले सूचीकृत कम्पनीहरूको पहिलो कारोबारका लागि कम्पनीको प्रतिशेयर नेटवर्थका आधारमा अधिकतम तीन गुणासम्मको मूल्य सीमा निर्धारण गर्ने व्यवस्था गरेको छ।

प्रतिक्रिया दिनुहोस्