वीरगञ्ज भन्सारबाट ११ महिनामा २ खर्ब २१ अर्बभन्दा बढी राजस्व संकलन
काठमाडौं, ११ असार । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ११ महिनामा २ खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।
कार्यालयले चालु आर्थिक वर्षमा २ खर्ब ४९ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। हालसम्म लक्ष्यको करिब ८९ प्रतिशत मात्र प्राप्त भएको छ।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा अघिल्लो वर्षको तुलनामा राजस्व संकलन ९ प्रतिशतले वृद्धि भई १७ अर्ब ९७ करोड रुपैयाँले बढी संकलन भएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ३ अर्ब ८१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
भन्सार विभागले चालु आर्थिक वर्षका लागि कार्यालयलाई २ खर्ब ७३ अर्ब ३९ करोड रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य दिएको छ।
महिनागत विवरण अनुसार साउनदेखि जेठसम्म नियमित रूपमा राजस्व संकलन हुँदै आएको छ, जसमा सबैभन्दा बढी चैत महिनामा २२ अर्ब ८२ करोड रुपैयाँ संकलन भएको छ।
यस अवधिमा वीरगञ्ज नाका हुँदै ८ खर्ब ९० अर्ब ७ करोड रुपैयाँ बराबरका वस्तु आयात भएको छ भने ९९ अर्ब ६६ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको कार्यालयले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्