सरकारको आश्वासनपछि झापा र इलामका चिया उद्योग पुनः सञ्चालनमा
काठमाडौं, ११ असार । सरकारले चिया क्षेत्रका समस्या समाधानका लागि विशेष कार्यदल गठन गरी पहल गर्ने प्रतिबद्धता जनाएपछि झापा र इलामका बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।
भारतले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेपछि असारको पहिलो सातादेखि बन्द भएका चिया उद्योगहरू बिहीबारदेखि क्रमशः सञ्चालनमा आएका हुन्। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताका अनुसार सरकारले समस्या समाधानका लागि तदारुकता देखाएपछि उद्योगीहरूले उद्योग खोल्ने निर्णय गरेका हुन्।
उनका अनुसार झापाका ३० वटा सीटीसी चिया उद्योग सञ्चालनमा आइसकेका छन् भने इलामसहित पहाडी जिल्लाका उद्योगहरू पनि खुल्ने क्रममा छन्।
चिया निर्यातमा देखिएको समस्या समाधानका लागि प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय तथा सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय कार्यदल गठन गरेको छ। कार्यदललाई दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहित प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र र कृषि मन्त्रालयका प्रतिनिधिका साथै भन्सार, खाद्य प्रविधि, नापतौल विभाग तथा चिया विकास बोर्डका अधिकारीहरू सहभागी छन्।
गत वैशाख १८ गतेदेखि भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ कार्यविधि लागू गरेपछि नेपाली चिया निर्यात प्रभावित भएको थियो। नयाँ व्यवस्थाअनुसार भारत जाने प्रत्येक चियाको ढुवानी साधनले अनिवार्य प्रयोगशाला परीक्षण गराउनुपर्ने र परीक्षण प्रतिवेदन आउन लामो समय लाग्ने व्यवस्था गरिएपछि निर्यात प्रक्रिया अवरुद्ध बनेको थियो।
यसका कारण करिब सयवटा चिया उद्योग बन्द भएका थिए। उद्योग बन्द हुँदा बगानमा टिप्न तयार चियापत्ती नष्ट हुने अवस्था सिर्जना भएको थियो भने दैनिक करोडौं रुपैयाँ बराबरको क्षति भएको उद्योगीहरूको भनाइ छ। साथै हजारौं किसान र मजदुर प्रत्यक्ष प्रभावित भएका थिए।
उद्योगीहरूले तत्कालका लागि हरियो चियापत्ती प्रशोधन गर्न उद्योग सञ्चालनमा ल्याए पनि निर्यात सहज नभएसम्म उत्पादित चिया गोदाममै भण्डारण गरेर राखिने बताएका छन्।







प्रतिक्रिया दिनुहोस्