अर्घाखाँचीका सबै स्थानीय तहले बजेट सार्वजनिक, कृषि, पर्यटन र रोजगारीमा जोड
काठमाडौं, ११ असार । अर्घाखाँचीका सबै ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरूले कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, सुशासन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट ल्याएका हुन्।
शिक्षा, स्वास्थ्य र रोजगारीको खोजीमा बढ्दो बसाइँसराइलाई रोक्ने उद्देश्यसहित स्थानीय तहहरूले कृषि तथा स्वरोजगारमुखी कार्यक्रममार्फत आयआर्जन वृद्धि गर्ने योजना अघि सारेका छन्।
सन्धिखर्क नगरपालिकाले ८६ करोड ४५ लाख २५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, वातावरण संरक्षण तथा सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ। सुपादेउराली, खाँची दरबार, अर्घा भगवतीलगायत पर्यटकीय क्षेत्रलाई समेटेर पर्यटन विकासका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
शितगंगा नगरपालिकाले ९६ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, पर्यटन प्रवर्द्धन तथा रोजगारी सिर्जना मुख्य प्राथमिकतामा परेका छन्।
भूमिकास्थान नगरपालिकाले ८५ करोड ९६ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। कृषि, पशुसेवा, शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई बजेटमा समावेश गरिएको छ।
छत्रदेव गाउँपालिकाले ५३ करोड ६६ लाख ४० हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै कृषि आधुनिकीकरण, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, पर्यटन प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको जनाएको छ।
पाणिनी गाउँपालिकाले ७१ करोड ३७ लाख २४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। स्वास्थ्य, कृषि, शिक्षा तथा पर्यटनलाई प्राथमिकतामा राखिएको बजेटमा १५ शैय्याको अस्पताल सञ्चालन, दुग्ध उत्पादन केन्द्र स्थापना तथा शैक्षिक गुणस्तर सुधारका कार्यक्रम समावेश छन्।
मालारानी गाउँपालिकाले ६२ करोड २२ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले कृषि, पशुपालन र पर्यटनलाई विकासको मुख्य आधार मान्दै बजेट विनियोजन गरेको जनाएको छ।
स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटमा उत्पादन वृद्धि, स्वरोजगार प्रवर्द्धन, सेवा प्रवाह सुधार तथा स्थानीय स्रोत–साधनको उपयोगमार्फत समग्र आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकता दिइएको छ।







प्रतिक्रिया दिनुहोस्