ललितपुर महानगरको ७ अर्ब ४८ करोड बजेट

काठमाडौं, १० असार । ललितपुर महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

बुधबार आयोजित नगरसभामा उपमेयर मञ्जली शाक्य बज्राचार्य ले बजेट प्रस्तुत गर्दै आगामी वर्षको बजेट चालु आर्थिक वर्षकै हाराहारीमा रहेको बताइन्।

चालु खर्चमा ३ अर्ब २५ करोड

महानगरले आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरेको छ। कर्मचारीको तलबवृद्धि, प्रोत्साहन भत्ता, प्रशासनिक खर्च तथा सामाजिक सुरक्षा भत्ताजस्ता अनिवार्य दायित्व बढ्ने भएकाले चालु खर्च वृद्धि हुने प्रक्षेपण गरिएको छ।

चालु आर्थिक वर्षमा चालु खर्चका लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार रुपैयाँ विनियोजन गरिएको थियो। आगामी वर्षको प्रस्तावित रकम अघिल्लो वर्षको तुलनामा करिब २८ करोड रुपैयाँ अर्थात् ९ प्रतिशत बढी हो।

उपमेयर बज्राचार्यले बजेटलाई मितव्ययी, पारदर्शी र औचित्यपूर्ण ढंगले खर्च गर्ने गरी योजना बनाइएको बताइन्।

पुँजीगत खर्च ६ प्रतिशतले घट्यो

महानगरले पुँजीगत खर्चतर्फ ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरेको छ। यो चालु आर्थिक वर्षको ४ अर्ब ५० करोड ७७ लाख २९ हजार रुपैयाँको तुलनामा करिब २७ करोड रुपैयाँ कम अर्थात् ६ प्रतिशतले घटेको हो।

संघीय र प्रदेश सरकारबाट पुँजीगत शीर्षकमा कम बजेट प्राप्त भएकाले पुँजीगत खर्च घटाउनुपरेको महानगरले जनाएको छ।

वडा र क्षेत्रगत कार्यक्रमलाई प्राथमिकता

आगामी बजेटमा वडास्तरीय कार्यक्रम तथा विषयगत क्षेत्रका योजनालाई प्राथमिकता दिइएको छ। स्थानीय आवश्यकता अनुसार विकास आयोजना सञ्चालन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य महानगरले लिएको छ।

बजेट कार्यान्वयनमा मासिक अनुगमन

महानगरले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबाट मासिक प्रतिवेदन (रिपोर्टिङ) गर्ने व्यवस्था मिलाएको जनाएको छ। यसले योजनाको प्रगति, खर्चको अवस्था तथा सेवा प्रवाहको नियमित अनुगमन गर्न सहयोग पुग्ने विश्वास महानगरको छ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत वित्तीय अनुशासन कायम गर्दै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई सन्तुलित रूपमा अघि बढाउने लक्ष्य राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्