वीरगञ्ज महानगरको ४ अर्ब ४२ करोडको बजेट, शिक्षा–स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
काठमाडौं, १० असार । मधेश प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
बुधबार सम्पन्न २०औं नगरसभामा कार्यवाहक मेयर इम्तियाज आलम का तर्फबाट नगर कार्यपालिका सदस्य जगत साह कानु ले अनुमानित आय–व्यय विवरणसहित बजेट प्रस्तुत गरेका हुन्।
महानगरले शिक्षा, स्वास्थ्य सेवा, सरसफाइ, कृषि, पर्यटन, उद्योग, गुणस्तरीय भौतिक पूर्वाधार तथा प्रविधि विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको जनाएको छ।
बजेटमा उल्लेख्य वृद्धि
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेट चालु आर्थिक वर्षको तुलनामा करिब १ अर्ब १९ करोड रुपैयाँले बढी हो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि महानगरले ३ अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।
चालु खर्चमा आधाभन्दा बढी बजेट
प्रस्तुत बजेटअनुसार चालु खर्चतर्फ २ अर्ब ४० करोड ३४ लाख ६९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ। पुँजीगत खर्चतर्फ १ अर्ब ९६ करोड ९९ लाख ८४ हजार रुपैयाँ अर्थात् ४४.६ प्रतिशत छुट्याइएको छ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ ५ करोड रुपैयाँ अर्थात् कुल बजेटको १.१ प्रतिशत विनियोजन गरिएको छ।
आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड उठाउने लक्ष्य
महानगरले आगामी वर्षको खर्च व्यवस्थापनका लागि विभिन्न स्रोतबाट आम्दानी हुने अनुमान गरेको छ। संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ भने आन्तरिक राजस्वबाट १ अर्ब ४८ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ।
संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार रुपैयाँ, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार रुपैयाँ तथा प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै घरजग्गा रजिस्ट्रेशन शुल्कबाट ४५ करोड रुपैयाँ, गत वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख ४४ हजार रुपैयाँ तथा नगर विकास कोष बाट १५ करोड रुपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमार्फत सेवा प्रवाह सुधार, पूर्वाधार विस्तार तथा आर्थिक गतिविधि प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।







प्रतिक्रिया दिनुहोस्