विराटनगर महानगरको ३ अर्ब ५६ करोडको बजेट, पूर्वाधारमा सबैभन्दा बढी प्राथमिकता
काठमाडौं, १० असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार सम्पन्न नगरसभामा उपप्रमुख शिल्पा निरला कार्की ले बजेट प्रस्तुत गरेकी हुन्।
यो बजेट चालु आर्थिक वर्षको ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको तुलनामा करिब १० करोड रुपैयाँले कम हो।
पूर्वाधार विकासमा १ अर्ब ६० करोड
महानगरले आगामी वर्ष पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ विनियोजन गरेको छ। वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख रुपैयाँ, नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ तथा बहुवर्षीय र गौरवका आयोजनाका लागि १५ करोड रुपैयाँ छुट्याइएको छ। पुराना दायित्व भुक्तानीका लागि २५ करोड रुपैयाँ व्यवस्था गरिएको छ।
शिक्षा र स्वास्थ्यमा १७ करोडभन्दा बढी
सामाजिक विकासतर्फ २६ करोड ५० लाख ५९ हजार रुपैयाँ विनियोजन गरिएको छ। यसअन्तर्गत शिक्षाका लागि १० करोड ९ लाख रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि ७ करोड ३ लाख रुपैयाँ छुट्याइएको छ।
आर्थिक विकासतर्फ ३ करोड २६ लाख ३७ हजार रुपैयाँ विनियोजन गरिएको छ। कृषि विकासका लागि ४६ लाख रुपैयाँ तथा पशु स्वास्थ्यतर्फ १ करोड ४२ लाख रुपैयाँ खर्च गरिनेछ।
त्यसैगरी सुशासन तथा संस्थागत विकासका लागि २ करोड ९३ लाख रुपैयाँ, वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि २ करोड ५९ लाख रुपैयाँ र फोहोरमैला व्यवस्थापनका लागि १ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ७६ करोड २८ लाख ७८ हजार रुपैयाँ छुट्याइएको छ।
आन्तरिक आयको लक्ष्य फेरि महत्वाकांक्षी
महानगरपालिकाले आगामी आर्थिक वर्षमा १ अर्ब २७ करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको छ। तर चालु आर्थिक वर्षमा पनि सोही हाराहारीको लक्ष्य राखिएको भए पनि जेठ मसान्तसम्म जम्मा ४४ करोड ८५ लाख ९२ हजार रुपैयाँ मात्र राजस्व संकलन भएको छ। लक्ष्यअनुसार आम्दानी नहुँदा आगामी वर्षको आन्तरिक आय लक्ष्य पनि चुनौतीपूर्ण देखिएको छ।
संघ र प्रदेशबाट १ अर्ब २१ करोडभन्दा बढी अनुदान
महानगरले संघीय सरकारबाट वित्तीय समानीकरण, सशर्त तथा पुँजीगत अनुदानमार्फत १ अर्ब ७ करोड २८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ।
प्रदेश सरकारबाट समानीकरण, चालु तथा पुँजीगत सशर्त अनुदान गरी १४ करोड २६ लाख ७४ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
राजस्व बाँडफाँडबाट ९२ करोडभन्दा बढी
सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, घरजग्गा रजिस्ट्रेसन दस्तुर, मूल्य अभिवृद्धि कर (VAT) तथा अन्तःशुल्कबाट राजस्व बाँडफाँडमार्फत ९२ करोड ५६ लाख १८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। बैंक मौज्दातबाट १४ करोड रुपैयाँ स्रोत व्यवस्थापन गरी कुल ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट निर्माण गरिएको महानगरले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्