तीन महिनामा १ लाख ८१ हजारभन्दा बढी नयाँ मतदाता थपिए : निर्वाचन आयोग
काठमाडौं, १० असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको पूर्वतयारी तीव्र पारेको बताउँदै पछिल्लो तीन महिनामा १ लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ।
आयोगका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि उक्त संख्यामा नयाँ मतदाता नामावलीमा दर्ता भएका हुन्।
त्यसैगरी, सोही अवधिमा १८ हजार ६२२ वटा मतदाता नामावली अद्यावधिकका लागि निवेदन प्राप्त भएको आयोगले जनाएको छ। गत प्रतिनिधिसभा निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम थिए।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनलगायतका कार्यहरू तीव्र रूपमा अघि बढाइएको छ।
यसैबीच, निर्वाचन तयारीका सम्बन्धमा असार ४ गते राष्ट्रियसभाको राष्ट्रिय समावेशीकरण, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा आयोगका पदाधिकारीसँग छलफल भएको थियो।
उक्त छलफलमा निर्वाचन समयमै घोषणा गर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउने, आयोग तथा मातहतका रिक्त पदहरू पूर्ति गर्ने, मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने, आधुनिक उपकरणबाट मतपत्र छपाइ गर्ने तथा गलत सूचना नियन्त्रणका लागि प्रभावकारी संयन्त्र विकास गर्नुपर्ने सुझावहरू प्रस्तुत गरिएको आयोगले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्