जुम्लामा ११ महिनामै ६५ लाखभन्दा बढी राजस्व सङ्कलन
काठमाडौं, १० असार । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ। वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा विभिन्न सेवा प्रवाहमार्फत उक्त राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
वन अधिकृत तेजेन्द्र रावलका अनुसार वन क्षेत्रको रोयल्टीबाट रु ९३ हजार ४००, बेरुजु असुलीबाट रु चार लाख ७५ हजार ५८१, प्रशासनिक सेवाशुल्कबाट रु नौ हजार १७५ तथा अन्य आय शीर्षकबाट रु ५९ लाख ६३ हजार १५० राजस्व प्राप्त भएको हो।
कार्यालयले वन संरक्षण तथा वन डढेलो नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। चालु आर्थिक वर्षमा वन डढेलो नियन्त्रणका लागि नौ पटक कार्य सञ्चालन गरिएको छ। यस अवधिमा एक वटा स्वचालित हाते आरा सूचीकृत गरिएको तथा ३३ पटक फर्निचर उद्योगको अनुगमन तथा नियमन गरिएको वन कार्यालयले जनाएको छ। साथै १९ वटा सामुदायिक वनको कार्ययोजना नवीकरण गरिएको छ।
कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार सोही अवधिमा जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलोग्राम जडीबुटी निकासी गरिएको छ। वन अतिक्रमण नियन्त्रण अभियानअन्तर्गत पाँच हेक्टर वन क्षेत्रको संरक्षण गरिएको जनाइएको छ।
जिल्लाका आठवटै स्थानीय तहमा ४६ वटा वनका नयाँ कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ। जुम्लामा हाल २०६ वटा सामुदायिक वन, १२७ वटा कबुलियती वन तथा छ वटा निजी वन रहेका छन्। वन स्रोतको संरक्षण, सदुपयोग र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्