बाँदर नियन्त्रणका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्दै पौवादुङमा गाउँपालिका

काठमाडौं, १० असार । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदरबाट हुने कृषि क्षति न्यूनीकरण गर्न बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत बाँदर नियन्त्रणका लागि अध्ययन, अनुसन्धान र बन्ध्याकरण कार्यक्रम अघि बढाउने योजना सार्वजनिक गरेको हो।

मङ्गलबारदेखि सुरु भएको गाउँसभाको १९औँ अधिवेशनमा प्रस्तुत बजेट तथा कार्यक्रममा उक्त योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए। उनका अनुसार बाँदरका कारण किसानहरू लामो समयदेखि समस्यामा परेकाले दीर्घकालीन समाधानका लागि बन्ध्याकरण कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

गाउँपालिकाले सङ्घीय सरकारसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ। बन्ध्याकरणमार्फत बाँदरको प्रजनन दर नियन्त्रण गरी सङ्ख्या व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। यसका लागि प्राविधिक जनशक्ति परिचालन, आवश्यक उपकरणको व्यवस्था तथा सम्बन्धित निकायसँग सहकार्य गरिने गाउँपालिकाको योजना छ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार पछिल्ला वर्षहरूमा बाँदरको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। बाँदरले मकै, कोदो, आलुलगायतका बालीमा ठूलो क्षति पुर्‍याउँदै आएपछि नियन्त्रणका उपाय अवलम्बन गर्न आवश्यक भएको उनले बताइन्।

कार्यक्रमको प्रारम्भिक चरणमा बाँदरको अवस्था, सङ्ख्या र नियन्त्रणका सम्भावित उपायबारे अध्ययन तथा खोजका लागि गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाले यस कार्यक्रमले कृषि उत्पादन संरक्षणका साथै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्