एमआरपीभन्दा बढी मूल्य असुल्ने र बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार रुपैयाँ जरिवाना
काठमाडौं, ९ असार । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता ठगी गरेको ठहर गर्दै दुई कम्पनीलाई कुल ४ लाख ४० हजार रुपैयाँ जरिवाना गरेको छ।
मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत गतिविधि गरेको पाइएपछि सम्बन्धित कम्पनीहरूलाई कारबाही गरिएको विभागले जनाएको छ।
विभागका अनुसार ललितपुर महानगरपालिका–२५ मा सञ्चालित मार्केट प्लेस प्रालि लाई २ लाख ४० हजार रुपैयाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा उक्त कम्पनीले अधिकतम खुद्रा मूल्य (एमआरपी) २४५ रुपैयाँ रहेको ‘सिम्पल आई मास्क’ ३९५ रुपैयाँमा बिक्री गरिरहेको भेटिएको थियो।
तोकिएको मूल्यभन्दा बढी रकम असुल गरी उपभोक्ता संरक्षण ऐनको दफा १६(२)(क) उल्लंघन गरेको पुष्टि भएपछि ऐनको दफा ३९(१)(ख) बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ।
यस्तै, काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित लिलिज नेपाल प्रालि लाई उपभोक्तालाई सामान बिक्री गर्दा बिल–बिजक जारी नगरेको पाइएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
अनुगमनका क्रममा ललितपुर महानगरपालिका–४, भनीमण्डलस्थित सोल स्क्वायर प्रालि लाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ।
यसैबीच, काठमाडौंका अन्य पाँच वटा पसल तथा फर्मलाई भने सुधारात्मक कदम चाल्न निर्देशन दिँदै सामान्य चेतावनीसहित छाडिएको छ।
विभागले बजारमा उपभोक्ता अधिकारको संरक्षण, मूल्यमा पारदर्शिता र व्यावसायिक अनुशासन कायम गर्न नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।









प्रतिक्रिया दिनुहोस्